Tuesday, May 26, 2026
Homeधर्म र संस्कृतिगंगा दशहराको पौराणिक कथा

गंगा दशहराको पौराणिक कथा

विराटचोकः आज गंगा दशहरा पर्व मनाइँदैछ । ज्येष्ठ शुक्ल दशमीको दिन मनाइने यो पर्वको ठूलो धार्मिक महत्व छ । पवित्र नदी गंगाको उत्पत्तिसँग जोडिएको गंगा दशहराको पौराणिक कथा यस्तो रहेको छ ।

एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडालाई यज्ञको लागि छाडे । सयौं अश्वमेध यज्ञ पूरा भएमा सगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।

सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न शुरु गरे । अन्ततः घोडा कपिल मुनिको आश्रममा चरिरहेको अवस्थामा फेला पर्याे । नजिकै महर्षि कपिल समाधिमा लीन थिए । बलको जोशमा सगर पुत्रहरूले होश गुमाए र कपिललाई नै घोडाचोर ठानेर चोर चोर भनेर कराउन तथा उनको अपमान गर्न थाले । जसका कारण महर्षि कपिलको समाधि भङ्ग भयो । उनले रोषपूर्वक आँखा उघारेर हेर्दा आगाको मुस्लो निस्कियो र त्यसले सगर राजाका सबै पुत्र तथा अश्वरक्षक सैनिकहरू भष्म भए ।

घोडा नआइपुगेपछि राजा सगरले नाति अंशुमानलाई यज्ञको घोडा खोज्न पठाए । अंशुमानले कपिल मुनिको आश्रमसम्म पुगेर घोडा फेला पारे । उनले घोडा लिएर आए । सबै वृत्तान्त बुझिसकेपछि सगर आफ्ना पुत्रहरूको मुक्तिका लागि गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यले नाति अंशुमानलाई राज्य सुम्पिएर तपस्या गर्न गए । तपस्याकै क्रममा उनको मृत्यु भयो ।

पछि अंशुमान पनि आफ्ना छोरा भगीरथलाई राज्यभार दिएर गंगालाई पृथ्वीमा ल्याउने उद्देश्यका साथ तपस्या गर्न गए । यसमा उनी पनि सफल भएनन् । उनको पनि मृत्यु भयो ।

त्यसपछि भगीरथको हातमा राज्य सत्ता आयो । भगीरथका सन्तान थिएनन् । पितृहरूलाई मुक्ति प्रदान गर्ने उद्देश्यले उनी राज्य मन्त्रीहरूलाई दिएर तपस्या गर्न गए ।

उनको तपस्याबाट प्रसन्न भएका ब्रह्माजीले उनलाई गंगा पृथ्वीमा लैजाने वरदान दिँदै भने, ‘भगीरथ ! गंगालाई पृथ्वीमा त लैजान्छौ नै तर गंगाको वेग थाम्न पृथ्वी सक्दिनन् । गंगाको वेग थाम्ने शक्ति केवल महादेवमा छ, पहिले उनलाई खुशी बनाऊ ।’

ब्रह्माको परामर्शपछि भगीरथले महादेवको तपस्या गरेर उनलाई खुशी तुल्याए र महादेवबाट गंगाको वेग थाम्ने आश्वासन पाए । गंगा संसारै बगाउँछु भनेझैँ गरी वेगले पृथ्वीमा झरिन् । महादेवले गंगालाई आफ्नो विशाल जटामा थापेर त्यहीँ नै बन्दीजस्तो बनाइदिए । फेरि भगीरथले महादेवको पुकारा गरेपछि महादेवले सातवटा प्वाल पारेर गंगालाई छोडिदिए ।

भगीरथ रथमा अघिअघि गंगा त्यही बाटोमा पछिपछि हुँदै अघि बढ्दै थिए । बाटोमा महर्षि जन्हुको आश्रम पथ्र्यो । गंगाले उनको आश्रम बगाइदिइन् । यसबाट रिसाएका महर्षि जन्हुले योगबलको प्रयोग गरी सम्पूर्ण गंगा पिइदिए । गंगा सुकिन् ।
भगीरथले फेरि महर्षि जन्हुसित प्रार्थना गरे आफ्नो समस्यमा सुनाए । अनि जन्हुले आफ्नो घुँडा चिरेर गंगालाई निकालिदिए । त्यसैकारण गंगालाई जान्हवी पनि भनिन्छ ।

अन्ततः भगीरथले गंगालाई कपिल मुनिको आश्रमसम्म पुर्याए । गंगाको जलमा खारानी मिसिएपछि सगर पुत्रहरू सबै मुक्त भए । गंगालाई भगीरथले पृथ्वीमा ल्याएको हुनाले गंगालाई भागिरथी गंगा पनि भनिन्छ ।

यसरी भगीरथले अथक प्रयास गरेर ल्याएकी गंगा आजसम्म पनि पृथ्वीमा रहेकी छिन् । वातावरण पवित्र पार्दै हिमालयदेखि सागरसम्म अविरल बगिरहेकी गंगाले आजसम्म पृथ्वीमा अनन्त जीवलाई गुन लगाएकी छिन् ।

गंगालाई हिन्दूहरूले पवित्र नदीको रूपमा सम्मान तथा पूजा गर्ने गर्दछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments