विराटचोकः प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमास अर्थात् मलमास आजदेखि शुरु भएको छ । पुरुषोत्तम पनि भनिने मलमास असार १ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिन्छ । ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र वर्षबीच समन्वय मिलाउन अधिकमास पर्ने गर्दछ ।
धार्मिक मान्यताअनुसार मलमासलाई ‘पुरुषोत्तम मास’ पनि भनिन्छ । भगवान् श्रीकृष्णले आफ्नो नामबाट चिनिने वरदान दिएपछि यो महिनालाई पुरुषोत्तम मास भनिएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।
अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पहिलेदेखि गर्दै आएको व्रत गर्न सकिए पनि नयाँ व्रत तथा शुभकामर्य शुरु गर्नु उपयुक्त मानिँदैन । विवाह, व्रतबन्ध, गृहप्रवेश, घर निर्माण, गर्भाधानजस्ता माङ्गलिक कार्य अधिकमासमा वर्जित छन् ।
अधिकमासभर एक महिनासम्म काठमाडौंको कीर्तिपुरस्थित मच्छेगाउँमा माधवनारायण मेला लाग्दछ ।




