काठमाडौंः आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । सोही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।
यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइन्छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।
सन् २००० अघिसम्म नेपालमा १५ हजार व्यक्ति मात्रै टेलिफोनको पहुँचमा थिए । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प थिएन । परिस्थिति अहिले फेरिएको छ ।
नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुनरागमन पश्चात सबैभन्दा छिटो प्रगति भएका क्षेत्रहरू मध्ये सूचना प्रविधिको क्षेत्र प्रमुख हो ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को स्थापना तथा सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ महासन्धिमा हस्ताक्षर भएको दिनको सम्झनामा यो दिवस मनाइन्छ ।




