विराटचोकः सुकुना बहुमुखी क्याम्पसको सभाहलमा भुल्के युवा समाजको आयोजनामा तथा आरम्भ सुधार केन्द्रको समन्वयमा लागूपदार्थ दुर्व्यसनविरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरूलाई लागूपदार्थ दुव्र्यसनबाट टाढा राख्दै सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर आयोजित कार्यक्रमले समाजलाई दुर्व्यसनमुक्त बनाउन सहयोग पुग्ने सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले बताउनुभयो ।
कार्यक्रममा सहजकर्ता टीकाराम सिग्देलले युवाहरूलाई लागूपदार्थको असर, जोखिम तथा त्यसबाट बच्ने उपायबारे प्रभावकारी परामर्श दिनुभएको थियो ।
सहजकर्ता राजीव गिरीले युवाहरूलाई सकारात्मक जीवनशैली अपनाउन आग्रह गर्नुभएको थियो ।
लागूपदार्थ त्यागौं, उज्ज्वल भविष्य रोजौं भन्ने सन्देशसहित भएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजक भुल्के युवा समाजले आभार व्यक्त गरेको थियो ।




