गोठगाउँः मोरङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बेलबारीको कबिर मावि पहिलो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुन्दरहरैंचा नगर कार्य समितिको आयोजनामा भएको दोस्रो खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हिमालय इङ्लिस स्कुल सुन्दरहरैंचा दोस्रो, लक्ष्मी मावि बेलबारी तेस्रो भएका थिए । सुन्दरवाटिका एकेडेमीले सान्त्वना स्थान हासिल गरेको थियो ।
सुन्दरवाटिका एकेडेमीको प्राङ्गणमा भएको प्रतियोगितामा जिल्लाका ६ वटा डोजाङका ८५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा सुन्दरवाटिका एकेडेमीले प्राविधिक सहयोग गरेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुन्दरहरैंचा नगर कार्य समितिका नगर अध्यक्ष अर्जुन भुजेलको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विनोद फुयालले स्वागत मन्तव्य राख्नुभएको थियो । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगर, कार्यपालिका सदस्य सीता अधिकारीलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन जानुका ओझाले गर्नुभएको थियो ।
पुम्से र विभिन्न उमेर समूहका आधारमा खेलाडी विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई अवार्ड पनि प्रदान गरिएको थियो । जसमा छात्रातर्फ सुन्दरवाटिका एकेडेमीकी सृष्टि पोखरेल र छात्रतर्फ लक्ष्मी माविका अभि तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विजयी विद्यालयलाई शिल्ड र प्रमाणपत्र तथा विजयी विद्यार्थीलाई प्रमाणपत्र मेडल प्रदान गरिएको थियो ।




