उर्लाबारीः सञ्चार क्लब नेपालको २२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर आज चार जना पत्रकारलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ । पत्रकारहरूको योगदानको कदर गर्दै नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कारबाट सन्तोष राई, दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट केशव निरौला, लीलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट सन्तोष गौतम र दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गाप्रसाद खतिवडा सम्माति हुनुभएको हो । सम्मानित हुने पत्रकारलाई नगद १० हजार १ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङको प्रमुख आतिथ्यता तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको विशिष्ट अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा प्रस्तुत भएको महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पनि पारित गरिएको थियो ।
नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन सम्पन्न भएको छ । साधारणसभापछि दिउँसो १ बजेदेखि ४ बजेसम्म निर्वाचन भएको थियो । अरु पद सर्वसम्मत चयन भए पनि अध्यक्ष पद र कोषाध्यक्ष पदका लागि निर्वाचन भएको हो ।
अध्यक्ष पदमा घनश्याम भण्डारी र विजय धिमाल तथा कोषाध्यक्ष पदमा संगीता राई र सम्झना राईको उम्मेद्वारी परेको छ । उनीहरुलाई क्लबका ५९ जना साधारण सदस्यले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।



