विराटचोकः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेलमा २५ रुपैयाँ रुपैयाँ र हवाइ इन्धनमा आन्तरिकतर्फ ६ रुपैयाँ मूल्य बढाएको छ । लामो समयपछि ग्यासको मूल्य पनि प्रति सिलिण्डर १०० रुपैयाँ बढाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।
आजदेखि लागू भएको मूल्य अनुसार अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २०१० रुपैयाँ पुगेको छ ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ अझै घाटा हुने अवस्था छ । हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७ घाटा रहेको निगमले जनाएको छ । निगमलाई पाक्षिक रुपमा १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने देखिएको जनाइएको छ ।
निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल\मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ निगमले जनाएको छ ।



