बर्दिबासः एसईई दिएर फर्किरहेका विद्यार्थी सवार रहेका दुई वटा मोटरसाइकल ठोक्किएर आगलागी हुँदा ३ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । थप तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय सुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुघ्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुका आफन्तले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही स्थानका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन् ।
जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बर प्लेटसमेत नचिनिने अवस्थामा रहेको छ ।



