Monday, April 20, 2026
Homeपर्यटनपर्यटकलाई आकर्षित गर्ने भोजपुर–बेहेर नागबेली सडक

पर्यटकलाई आकर्षित गर्ने भोजपुर–बेहेर नागबेली सडक

भोजपुरः हरियो जङ्गलको बीचबाट नागबेली आकारमा झरेको भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्मको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।

यो सडकको दृश्यले जो कोहीलाई पनि सहजै आकर्षित गर्ने गर्दछ । भोजपुर नगरपालिका वडा नम्बर १२ मा पर्ने यो सडक करिब १३ किलोमिटर लामो रहेको छ । उकालो–ओरालोमा दर्जनौँ घुम्ती पार गर्दै निर्माण गरिएको यो मार्गले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्नुका साथै यहाँको जनजीवनमा ठूलो परिवर्तन ल्याएको स्थानीय बताउँछन् ।

पहिले घन्टौं पैदल हिँड्नुपर्ने ठाउँमा अहिले सवारी साधन पुग्न थालेपछि स्थानीयवासीको दैनिकी सहज बनेको छ । यो सडकले भोजपुरलाई दक्षिणी क्षेत्रसँग जोडेको छ । माथिबाट हेर्दा लामो सर्पजस्तै घुमाउरो देखिने यो सडकको दृश्यले फोटोग्राफी तथा भिडियो खिच्न रुचाउने तथा टिकटक बनाउनेका लागि आकर्षक देखिन्छ ।

सामाजिक सञ्जालमा यस्ता तस्बिर तथा भिडियो व्यापक रूपमा पोस्ट हुन थालेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्र वरिपरि फैलिएको हरियाली वन, डाँडाकाँडा र तल बगिरहेको पिखुवा खोलाको मनोरम दृश्यले यात्रालाई अझ रमणीय बनाउने गर्दछ । बिहानको कुहिरो र साँझपखको सुनौलो घामले सडकलाई झन् आकर्षक बनाउने गरेको छ ।

यो सडकले कृषि उत्पादन बजारसम्म पुर्याउन सहजता ल्याएको छ । आलु, मकै, अदुवा, फलफूललगायत कृषिउपज ढुवानीमा सहज भएपछि किसानलाई प्रत्यक्ष लाभ पुगेको छ । सडक सञ्चालनमा आएपछि यहाँको व्यापार–व्यवसाय पनि विस्तार हुन थालेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments