विराटचोकः नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो १५ दिनमै निगमको घाटा करिब १३ अर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा पनि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा ह्वात्तै बढेको हो ।
निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको लागत उल्लेखनीय रूपमा बढेको छ । तर, उपभोक्तालाई प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्यमा समायोजन नगर्दा निगमले ठूलो आर्थिक भार वहन गर्नुपरेको जनाएको छ । पेट्रोलमा ४१ रुपैयाँ र डिजेलमा ९४ रुपैयाँ मूल्य बढेर आए पनि निगमले नेपालमा मूल्य नबढाएको हो ।
मंगलबार सार्वजनिक निगमको प्रेस विज्ञप्तिअनुसार हवाई इन्धनको मूल्य आन्तरिकतर्फ साविक १२७ प्रतिलिटर रहेकामा समायोजन गरेर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंमा यसअघि प्रतिकिलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार १ हजार ७८५ डलर पुगेको छ ।
पोखरामा यसअघि प्रतिकिलोलिटर ८०१ डलर रहेकामा बढाएर १ हजार ७३२ डलर र भैरहवामा यसअघि प्रतिकिलो लिटर ७८९ डलरमा कारोबार भइरहेकोमा मूल्य बढाएर १ हजार ७१६ डलर पुर्याइएको छ ।



