काठमाडौंः शेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।
‘नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो ।’ विज्ञप्तिमा भनिएको छः’ ‘सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरुले पनि तयार गरेर चैत १७ गते सुन्धारामा बसेको स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।’
एशोसिएसनका अनुसार हाल मार्जिन कारोबारसँग सम्बन्धित सबै प्रक्रिया पूरा गरेको भए पनि केही प्राविधिक विषय पनि मिलाउनुपर्ने भएका कारण २०८३ बैशाख २ गतेदेखि सबै मार्जिन कारोबार गर्न योग्य ब्रोकरहरुबाट यो सुविधा लगानीकतालाई उपलब्ध गराइने भएको हो ।



