बर्दिबासः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । उनले पूर्व श्रम मन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । भण्डारी १९ पटक मन्त्री भइसकेका व्यक्ति हुन् ।
साहले लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।
महोत्तरी–२ बाट निर्वाचित नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन् ।
नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष समेत रहेका साह ३२ हजार ७२२ मत ल्याएर विजयी हुँदा मुख्य प्रतिष्पर्धी जनता समाजवादी पार्टी (नेपाल) का वरिष्ठ नेता भण्डारीले १० हजार १९८ मत ल्याएका थिए ।





