विराटचोकः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





