विराटचोकः आइएसओ मान्यता प्राप्त गर्ने लक्ष्यका साथ सुन्दरहरैंचा नगरपालिका–१२ मा रहेको सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुल अन्तर्राष्ट्रिय मापदण्डसहितको शिक्षा प्रदान गर्ने दिशामा अग्रसर भएको छ । सो लक्ष्य प्राप्तिका लागि विद्यालयले पछिल्लो समय विभिन्न शैक्षिक तथा व्यवस्थापकीय क्रियाकलापहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
शनिबार विद्यालयले ‘कुशल अभिभावकत्व कार्यशाला’ सम्पन्न गरेको छ । अभिभावकका लागि अभिमुखीकरणयुक्त सो कार्यक्रममा एभरेस्ट इन्टरनेसनल म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र खरेलले सहजीकरण गर्नुभएको थियो ।
सो कार्यशालामा विद्यालयका अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।
सहजकर्ता खरेलले अभिभावकलाई प्रभावकारी अभिभावकत्व, बालबालिकाको समग्र विकास तथा बदलिँदो सूचना प्रविधिमैत्री परिवेशले सिर्जना गरेका चुनौतीबारे जानकारी दिनुभएको थियो । बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालय, अभिभावक र विद्यार्थीबीच सुदृढ त्रिकोणात्मक सम्बन्ध आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यशालामा विद्यार्थीको गुणस्तरीय शिक्षालाई लक्ष्यित गर्दै सुरक्षा, स्वास्थ्य, संस्कार, शिक्षा, सृजनशीलता तथा सकारात्मक व्यवहार विकासका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो । गुणस्तरीय शिक्षाका लागि दक्ष र प्रभावकारी व्यवस्थापन, अन्तर्राष्ट्रिय मापदण्डको अभ्यास तथा अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर व्यवस्थापन प्रणालीबारे पनि जानकारी गराइएको थियो ।
आईएसओ २१००१ इओएमएस प्रमाणित विद्यालयका रूपमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक विद्यालयले विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैँचा अध्यक्ष दीपक केसी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीका साथै विभिन्न विद्यालयका प्रिन्सिपलहरू उपस्थित हुनुहुन्थ्यो ।





