इटहरीः समुदायबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने छात्र तथा छात्राका लागि अलगअलग छात्रावास निर्माण हुने भएको छ । ती छात्रावासको क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले आज बिहान शिलान्यास गर्नुभएको छ ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा बहुवर्षीय योजना अन्तर्गत पहिलो किस्तामा १ करोड ४२ लाख रुपैयाँ निकासा भएसँगै शिलान्यास गरेर काम सुरुवात गरिएको हो । क्याम्पसले विद्यार्थीहरूको शैक्षिक अभिवृद्धि गर्ने विभिन्न योजना ल्याउने क्रममा छात्रावास पनि एउटा महत्त्वपूर्ण पक्षको रूपमा लिएको अध्यक्ष केसीले बताउनुभएको छ ।
बहुवर्षीय योजना अन्तर्गत अहिले पहिलो चरणमा छात्र र छात्राका लागि अलग अलग एक तले प्रत्येक भवनमा १४\१४ कोठा निर्माण हुनेछन् । निर्माणका लागि चारुमति कन्स्ट्रक्सन प्रालि वानेश्वर काठमाडौँले ठेक्का पाएर काम थालेको छ । ठेकेदार जीवन तिम्सिनाका अनुसार अहिले पहिलो चरणको काम २०८४ पुस मसान्तभित्र पूरा गर्ने सहमति भएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत तीन तले छात्रावास निर्माण भएसँगै पूर्वी पहाडी जिल्ला र मधेस प्रदेशबाट आउने छात्रालाई डेरा बस्नुपर्ने बाध्यता अन्त्य हुने क्याम्पस सञ्चालक समिति शैक्षिक अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक शिवराज दाहाल बताउनुहुन्छ ।
दुर्गम तथा आर्थिक रूपमा कमजोर भएको परिवारका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउन छात्रावासले लाभ पुग्ने क्याम्पस प्रमुख प्राध्यापक डाक्टर गीता अधिकारीले बताउनुभयो । छात्रावासले गर्दा विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । छात्रावासका कारणले गर्दा विद्यार्थीहरूको नियमित उपस्थिति र अध्ययनमा निरन्तरता हुने सहायक क्याम्पस प्रमुख सञ्जीव यादवले बताउनुभयो ।





