विराटचोकः रेडियो सगरमाथामा सञ्चारकर्मीको रुपमा काम गरेका विक्रम तिमल्सिना सूचना तथा सञ्चारमन्त्री बनेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका तिमल्सिना रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन् ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमल्सिनाले अस्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेशनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका छन् ।
त्यस्तै, क्विन्सल्यान्ड विश्वविद्यालयबाट पनि उनले अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट उनले अंग्रेजीमा पनि स्नातकोत्तर गरेका छन् ।
तीन वर्ष पहिलेदेखि उनी त्रिविअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा सशस्त्र प्रहरी अधिकृतहरूको लागि पोस्ट ग्राजुएट डिप्लोमा अन्तर्गत सुरक्षा व्यवस्थापन अध्यापन गराइरहेका थिए । त्रिविको मानविकी सङ्काय अन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा पनि उनी अध्यापनरत थिए ।
एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको अनुभव भएका उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वित्तीय समावेशीकरण सम्बन्धी प्रोजेक्टमा प्रमुख अनुसन्धानकर्ता तथा लेखकका रूपमा काम गरेका थिए ।





