काठमाडौंः निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्न आवश्यक रहेको बताएका छन् ।
आज प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा निर्वाचन खर्च घट्ने बताएका हुन् ।
वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुनाले त्यसको लागि हाल लागू रहेका करिव १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । सो ऐनको लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षभन्दा अघि नै सरकारलाई पठाइसकेको र सो विधेयक गृह मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको उनले बताए ।
अबको संसद्ले यथाशीघ्र छलफल गरी निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि ऐन–कानुन तयार गर्नुपर्ने बताए । आगामी अधिवेशनमै निर्वाचन व्यवस्थापन विधेयक पारित गर्नुपर्ने आवश्यकतामा उनले जोड दिएका थिए ।





