Wednesday, March 18, 2026
Homeधर्म र संस्कृति‘उद्यमी घर परियोजना’को अक्षयकोष स्थापना गर्न भोलिदेखि इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ

‘उद्यमी घर परियोजना’को अक्षयकोष स्थापना गर्न भोलिदेखि इटहरीमा श्रीमद्भागवत ज्ञान महायज्ञ

इटहरीः महिलाको आर्थिक सशक्तिकरण र उद्यमशीलता विकासलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको ‘उद्यमी घर परियोजना’ का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यसहित इटहरीमा भोलिदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।

महिला सीप विकास केन्द्रको आयोजनामा चैत ११ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो। महायज्ञको सफल आयोजना तथा व्यवस्थापनका लागि मूल आयोजक समितिले विभिन्न उपसमितिहरू गठन गरी प्रचार–प्रसार, व्यवस्थापन तथा आर्थिक सङ्कलन लगायतका कामलाई तीव्र बनाएको जनाएको छ ।

महायज्ञ मूल आयोजक समितिकी अध्यक्ष राधिका थापाका अनुसार गायत्री परिवारको सहकार्यमा सञ्चालन हुने महायज्ञ अवधिभर विभिन्न विद्वान पण्डितहरूबाट दैनिक रूपमा धार्मिक प्रवचन, कथा वाचन तथा आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरिने भएको छ ।

भोलि बिहान ७ बजे कलशयात्रा, ११ बजे महायज्ञ उद्घाटन
आयोजकका अनुसार भोलि बिहान ७ बजे इटहरीका विभिन्न स्थानबाट सहभागी श्रद्धालुहरू कलशसहित धार्मिक झाँकी र बाजागाजासहित महायज्ञ स्थलमा पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । बिहान ११ बजे महायज्ञको औपचारिक उद्घाटन गरिने भएको छ ।

पर्सि चैत ६ गतेदेखि नियमित पूजा–अर्चना, भागवत कथा वाचन तथा आध्यात्मिक कार्यक्रमहरू सञ्चालन हुने भएका छन् । महायज्ञ अवधिभर बिहान १० बजेदेखि ‘दैनिक जीवन दर्शन’ सम्बन्धी सत्संग कार्यक्रम सञ्चालन हुने र साँझ ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन आरती, भजन–कीर्तन तथा सामाजिक सम्मान कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

महायज्ञमा सहभागी श्रद्धालुहरूले आफ्ना पितृहरूको मोक्ष तथा आत्मशान्तिका लागि ऊँकार बत्ती प्रज्वलन गर्ने विशेष कार्यक्रम समेत रहने आयोजकको भनाइ छ ।

महायज्ञको समापका दिन सामुहिक गुन्यु–चोली, ब्रतबन्ध संस्कार, गीत–गजल प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा भिडियो विमोचन लगायतका कार्यक्रमहरू आयोजना गरिने भएका छन् ।

आयोजकका अनुसार महायज्ञबाट संकलित आर्थिक सहयोग रकम महिला सीप विकास केन्द्रद्वारा सञ्चालन हुने ‘उद्यमी घर परियोजना’ का लागि अक्षयकोष स्थापना गर्न प्रयोग गरिने भएको छ । सो अक्षयकोषमार्फत् महिलाहरूलाई उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगारका अवसर सिर्जना गर्न दीर्घकालीन रूपमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको अध्यक्ष थापाले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments