काठमाडौंः चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ ।
घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि नै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले घोडाको टापले कुल्चाएर त्यसलाई मारे । उसलाई मारे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर स्थानीयमा थियो ।
त्यसकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राको रातमा उसलाई मारिएको त्यो रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको एक हो।
सरकारले काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिने गर्छ ।





