विराटचोकः नेपाली कांग्रेसले पार्टीका उम्मेद्वारहरू पराजित हुनुको कारण पत्ता लगाएर प्रतिवेदन केन्द्रीय कार्यालय पठाउन मातहत समितिहरूलाई परिपत्र गरेको छ ।
महामन्त्रीद्वय गुरूराज घिमिरे र प्रदीप पौडेलले प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई फागुन २९ गते परिपत्र गर्दै अधिकांश स्थानमा पार्टीका उम्मेद्वार पराजित भएकाले त्यसको कारण पत्ता लगाएर पठाउन परिपत्र गरेका हुन् ।
उम्मेद्वारहरूले पनि समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले पार्टीका उम्मेद्वारहरूलाई विजयी गराउन तथा पार्टीको समानुपातिक मत वृद्धि गर्न निर्वाह गरेको भूमिकालाई धन्यवाद दिएको छ ।
प्रदेश अनुशासन समिति गठन भएका जिल्लाहरूले अनुशासन समितिको संयोजक र सदस्यहरूको नाम, सम्पर्क नम्बर यथाशीघ्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन पनि कांग्रेसले परिपत्र गरेको हो ।
अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन चैत ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन पनि कांग्रेसले आग्रह गरेको छ ।





