काठमाडौंः बैंक तथा वित्तीय संस्थाहरुले निर्वाचन अवधिमा पनि बैंकिङ सेवा उपलब्ध गराउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध हुने भएको हो ।
फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ । त्यस्तै, फागुन १८ गते हिमाली तथा पहाडी र १९ गते तराईका जिल्लामा होली पर्वको सार्वजनिक बिदा रहेको छ । सो अवधिमा बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।
त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेद्वारहरूको नगद वा चेक वा अन्य विनिमय साधनहरूको दाखिला, भुक्तानी लगायतका बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।







