विराटचोकः आज २७ फेब्रुअरी । आज विश्व गैरसरकारी संस्था दिवस मनाइँदैछ ।
सन् १९४५ मा संयुक्त राष्ट्र संघको चार्टरको एक अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी संगठन’ शब्दले एउटा औपचारिक स्थान पायो । त्यहाँ गैरसरकारी संगठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैरनाफामूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो ।
हाल प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक शहर वा जिल्लामा हुने स्थानीय समस्याको ध्यानाकर्षण ठूला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन् । गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसला प्रदान गर्न हरेक वर्ष आजकै दिन यो दिवस मनाइन्छ ।
आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैरसरकारी संस्थाले समाजमा पुर्याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रष्ट पार्ने प्रयास गर्दछ । आज ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पुर्याएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो ।







