केराबारीः मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले सोमबार केराबारी गाउँपालिका वडा नम्बर ५ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
उम्मेद्वार फागोले धुस्कुटे, लाफा चोक, तेह्रथुमे टोल, पीपल चोकलगायतका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरू सुन्नुका साथै समाधानका ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
घरदैलोका क्रममा स्थानीयले सडक पूर्वाधारको कमजोर अवस्था, सहज स्वास्थ्य उपचारको अभाव, खानेपानीको समस्या तथा स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीले उचित बजार मूल्य नपाएको गुनासो राखेका थिए । फागोले ती सबै विषयलाई नीतिगत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन योजनामार्फत् समाधान खोज्ने अठोट व्यक्त गर्नुभएको थियो ।







