जाँतेः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार खड्ग फागोले लेटाङ नगरपालिकाको बजार क्षेत्र र जाँते बजार क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
त्यस क्रममा उहाँले बजारदेखि बस्तीसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याहरू सुन्नुका साथै समाधानका लागि स्पष्ट र ठोस प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
घरदैलोका क्रममा स्थानीयले सडक पूर्वाधारको कमजोर अवस्था, सहज स्वास्थ्य उपचारको अभाव, खानेपानी समस्या तथा उत्पादित कृषि सामग्रीले उचित बजार मूल्य नपाएको गुनासो राखेका थिए ।
फागोले यी सबै विषयलाई संघीय तहबाट नीतिगत पहलमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै दीर्घकालीन विकास योजना अघि सार्ने अठोट व्यक्त गर्नुभएको थियो ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, कोशी प्रदेश सदस्य अर्जुन तुम्रोक, क्षेत्रीय सभापति शंकर राई, महासमिति सदस्य ललित अधिकारी, महाधिवेशन प्रतिनिधि सीता कार्की, रोहित कार्की, महिला संघ लेटाङ नगर सभापति इन्दू चौधरीलगायतका नेता–कार्यकर्ताको सक्रिय सहभागिता रहेको थियो ।







