विराटनगरः विराटनगर–१६, रानीस्थित श्री मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्ती साताव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।
फागुन २ गतेदेखि सुरु भएको हीरक जयन्ती महोत्सवको शुक्रबार विशेष समारोहका साथ समापन गरिएको हो । हीरक जयन्तीको उद्घाटन वि.सं. २००९ देखि विद्यालयमा अध्यापन गराएर सेवानिवृत्त हुनुभएकी ९४ वर्षीया पूर्व शिक्षिका मणिकला गुरुआमाले गर्नुभएको थियो । उद्घाटन समारोहअघि प्रमुख अतिथि मणिकला गुरुआमालाई रथारोहण गराई नगर परिक्रमा गराइएको थियो ।
समारोहमा विद्यार्थीहरूले आफैँ निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरेका थिए । सोही अवसरमा हीरक जयन्ती स्मारिका विशेषाङ्कको विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा लामो समय सेवा गरेका शिक्षक, कर्मचारी, उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक र जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न विधामा छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व शिक्षिका मणिकलाले मिल्स मावि एक ऐतिहासिक धरोहर भएको बताउँदै यहाँ अध्ययन गरेका विद्यार्थीहरू राष्ट्रको उच्च ओहोदामा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।







