विराटचोकः चार वटा दल मिलेर प्रतिनिधि सभा निर्वाचनको संघारमा ‘आइडिया मञ्च’ को घोषणा गरेका छन् । चार राजनीतिक शक्तिहरू पिपुल फस्र्ट पार्ट, गतिशील लोकतान्त्रिक (गतिलो) पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनको आपसी समझदारीअनुसार मञ्च बनेको हो ।
माघ २७ गते विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा ‘आइडिया मञ्च’ नामक नयाँ राजनीतिक गठबन्धन प्रस्ताव गरिएको मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘समावेशी, लोकतान्त्रिक, नैतिक विकल्प’ को नारासहित गठन गरिएको मञ्चले भदौमा भएको जेनजी आन्दोलनले उठाएका मागहरू पूरा नभएको र निहत्था युवाहरूको हत्यामा कोही जिम्मेवार नठहरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ ।
मञ्चले पुराना दलहरू र आन्दोलनलाई अपहरण गर्ने केही नयाँ दलहरू दुवैलाई चुनौती दिँदै आफूलाई ‘तेस्रो राजनीतिक ध्रुव’ का रूपमा उभ्याउने जिकिर गरेको छ ।
१२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार
आइडिया मञ्चले आसन्न निर्वाचनमा देशभर १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको जनाएको छ । ती उम्मेदवारहरूका पक्षमा आइडिया मञ्चले संयुक्त रूपमा प्रचारप्रसार गर्ने बताएको छ ।







