विराटचोकः निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिने आयोगले जनाएको छ । पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्ने र सोही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्ने आयोगले जनाएको छ ।







