भेडेटारः पर्यटकीय क्षेत्र धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा रिडी ग्रुप लिमिटेडले सामुहिक लगानीको मोडलमा ‘रिडी नाम्जे इको रिसोर्ट’ सञ्चालनमा ल्याउने भएको छ ।
सो लिमिटेडकी अध्यक्ष शारदा मगरका अनुसार यो परियोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै ग्रामीण पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ । स्थानीय समुदायसँग सहकार्य गर्दै दिगो पर्यटन विकास गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हालसम्म यस परियोजनामा ४५ करोड रुपैयाँ बराबरको लगानी जुटिसकेको छ । रिसोर्ट निर्माणका लागि १० रोपनी ५ आना क्षेत्रफलको जग्गा प्रयोग गरिएको छ । परियोजनाअन्तर्गत क्यासिनोसहितको तारे होटल रिसोर्ट निर्माण भइरहेको छ । जसलाई कोशी प्रदेशकै महत्वपूर्ण पर्यटन परियोजनाका रूपमा हेरिएको छ ।
सो लिमिटेडका निर्देशक मानबहादुर बुढा मगरले समूहले पर्यटन, सेवा तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राख्दै सामूहिक लगानीको अवधारणालाई सफलतापूर्वक कार्यान्वयन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार नाम्जे इको रिसोर्टमा गरिएको लगानीले स्थानीय साना व्यवसायीलाई प्रोत्साहन गर्ने र समग्र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र वातावरणमैत्री संरचनालाई प्राथमिकतामा राखेर निर्माणाधीन नाम्जे इको रिसोर्ट सञ्चालनमा आएपछि स्थानीय युवाहरूका लागि रोजगारीका अवसर सिर्जना हुने र नाम्जे क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने बताइएको छ ।







