गछियाः ‘एकताका लागि दौड’ भन्ने नाराका साथ खेलकुदमार्फत् सामाजिक एकता र स्वास्थ्यप्रति सन्देश दिने उद्देश्यले सिर्जनशील क्लबको आयोजनामा भएको सुन्दरहरैंचा सिर्जनशील रनमा ५०० जनाभन्दा बढी धावकले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको खुला १० किलोमिटर दौडमा महिलातर्फ दीपा बस्नेत, यदिका देवान र रुदिना महतारा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । पुरुषतर्फ प्रथम केन्याका जुलियाफ पहिलो भए । त्यस्तै, रमेश लिम्बू र तेन्जिन शेर्पा क्रमशः दोस्रो र तेस्रो भए । महिला र पुरुष दुवै तर्फका पहिलो, दोस्रो र तेस्रो हुने धावकले क्रमशः १७ हजार, ९ हजार र ५ हजार ५ सय रुपैयाँका साथमा मेडल प्राप्त गरे ।
५ किलोमिटर भेक्ट्रान दौडमा पुरुषतर्फ अभिनारायण अधिकारी, रेशम लिम्बू र विजयकुमार राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । सोही विधामा महिलातर्फ कुसुम लिम्बू, कौशिला तामाङ र कुमारी खतिवडा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
५ किलोमिटर अन्डर–सिक्सटिन दौडमा पुरुषतर्फ सामुएल लिम्बू, नवराज खड्का र रोहनकुमार माझी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ मन्दिरा महतारा, सपना शर्मा र अनिषा कार्की क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, ५ हजार ५ सय र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
१२ वर्ष मुनिका धावकबीच भएको ३ किलोमिटर दौडमा पुरुषतर्फ प्रिन्स चौधरी, रेहान बिक र अब्राज मन्सुरी क्रमशः पहिलो दोस्रो र तेस्रो भए । महिलातर्फ रेस्मा दर्जी, दीपिका गुरुङ र मूर्ति चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
३०० मिटर ह्वीलचेयर दौडमा विष्णुकान्त चौधरी, सञ्जीव लिम्बू र राजन बराईली क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै नगद ७ हजार, ३ हजार ५ सय र २ हजार रुपैयाँ प्राप्त गरे ।
सिर्जनशील क्लबका अध्यक्ष एकराज पोखरेलको अध्यक्षता तथा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको थियो ।
प्रमुख अतिथि राईले सुन्दरहरैंचा रन समाजलाई एकतामा बाँध्ने सशक्त माध्यमका रूपमा हुने तथा स्वस्थ जीवनशैली र खेलकुदको विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउन सहयोगी हुने बताउनुभयो ।
सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विदुरप्रसाद ढुंगाना, पूर्व वडाध्यक्ष जीवन ढुंगाना, नगर खेलकुद विकास समितिका सदस्य–सचिव खड्ग श्रेष्ठका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।







