काठमाडौंः निर्वाचन आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले आसन्न निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै राजनीतिक दल, दलका तर्फबाट उम्मेद्वार बनेका व्यक्ति (समानुपातिक उम्मेद्वार समेत) तथा स्वतन्त्र उम्मेद्वारले निर्वाचन अवधिसम्म सञ्चालन हुने गरी एक मात्र बैंक खाता खोल्नुपर्नेछ । निर्वाचनसँग सम्बन्धित सम्पूर्ण आम्दानी र खर्च यही खातामार्फत गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार आमनिर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले निर्णय गरी खाता बन्द गर्न निर्देशन नदिएसम्म ती खाता सञ्चालनमै रहनेछन् । आयोग मातहतका प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रत्येक दल र उम्मेद्वारले नेपाली रुपैयाँमा कारोबार गर्न मिल्ने गरी छुट्टै खाता खोल्न सक्ने व्यवस्था गरिएको हो ।
‘एकै प्रकृतिको एकभन्दा बढी बैंक खाता खोल्न नपाइने’ नियम भने निर्वाचन प्रयोजनका यस्ता खातामा लागू नहुने गरी छुट दिइएको छ । राष्ट्र बैंकले जारी गरेको परिपत्रमा निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्म चुनावका लागि खोलिने खातामा बहु–खाता प्रतिबन्ध लागू नहुने स्पष्ट गरिएको छ ।







