उर्लाबारीः एक कार्यक्रमका बीच नेपाली कांग्रेस मोरङ निर्वाचन क्षेत्र नं. १ ले उर्लाबारी–४ भद्रमारीमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।
सम्पर्क कार्यालय उद्घाटन समारोह क्षेत्रीय सभापति शंकर राईको अध्यक्षतामा भएको थियो । प्रदेश सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खड्गबहादुर फागो प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सभापति राईले संगठनलाई थप सक्रिय बनाउँदै जिम्मेवार र संयमित ढंगले चुनावी अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्यले एकताबद्ध भएर मैदानमा उत्रिएमा कांग्रेसको जीत सुनिश्चित हुने बताउनुभयो ।
पार्टीको नगर कमिटीका पूर्व सभापति नरेश थापाले कांग्रेसको ऐतिहासिक योगदान स्मरण गर्दै युवा नेतृत्वलाई जिताउन सबै तहबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला संघ क्षेत्रीय सभापति गोमा नेपालले कार्यकर्ताबीच एकता कायम राख्दै अघि बढ्नुपर्ने बताउनुभयो ।







