काठमाडौंः राजनीतिक वित्त तथा निर्वाचन खर्चसम्बन्धी विषयमा अनुगमन गर्ने कार्यशर्तसहित राजनीतिक दल तथा उम्मेद्वारको चुनावी खर्चको अनुगमन गर्न निर्वाचन आयोगले अनुगमन अधिकृत तोकेको छ ।
आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिएको छ । आयोगका अनुसार अनुगमन अधिकृतले राजनीतिक दल र उम्मेद्वारले निर्वाचनका क्रममा गर्ने खर्च, आय–व्ययको विवरण, आर्थिक अनुशासन तथा कानुनी सीमाको पालना भए–नभएको विषयमा निगरानी गर्नेछन् ।
आयोगले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमन अधिकृतका लागि १० वटा कार्यशर्त समेत तय गरेको जनाएको छ । ती कार्यशर्तहरू अनुसार अनुगमन कार्य निष्पक्ष, पारदर्शी र कानुनअनुसार गरिने आयोगको भनाइ छ ।







