Monday, January 26, 2026
Homeराजनीतिधनकुटामा अघिल्लो चुनावमा भन्दा दोब्बर बढी उम्मेद्वार

धनकुटामा अघिल्लो चुनावमा भन्दा दोब्बर बढी उम्मेद्वार

धनकुटाः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १७ जनाले उम्मेद्वारी दिएका छन् । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा ७ जनाले उम्मेद्वारी दिएका थिए ।

धनकुटामा १८ जनाले उम्मेदवारी दर्ता गरेकोमा १ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका गंगाराम गोम्देनले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा धनकुटामा एक जना स्वतन्त्र उम्मेदवार मात्रै रहेको भए पनि यसपटक ३ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

२०७९ को निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई, नेपाली कांग्रेसका सुनिलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वामित्र लावती, एकीकृत शक्ति नेपालका रमेश राई र स्वतन्त्र हेमराज भण्डारीले उम्मेद्वारी दिएका थिए ।

फागुन २१ को निर्वाचनका लागि एमालेका तर्फबाट पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज राजेन्द्रकुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारी, श्रम संस्कृति पार्टीका शानबहादुर राई, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू र राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा उम्मेद्वार रहेका छन् ।

नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, आम जनता पार्टीका प्रेमबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, जनता समाजवादी पार्टीका निशान राई, नेकपा माओवादीका रविनकुमार राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनका सागर राई तथा स्वतन्त्रबाट मनकुमार योञ्जन, जितेन्द्र राई र लाक्पा तामाङले उम्मेद्वारी दिएका छन् ।

२०७९ को निर्वाचनमा धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३० हजार १०१ मत प्राप्त गर्दै विजयी भएका थिए । नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७०४ मत पाएका थिए । स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बूले ६२५, मंगोल नेशनल अर्गनाइजेशनका विश्वामित्र लावतीले २१७ र एकीकृत शक्ति नेपालका रमेश राईले ९५ मत पाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments