काठमाडौंः नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । आज भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना सकिएको हो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ६८ रनमा ९ विकेट गुमाएको अवस्थामा इनिङ सकिएको हो । कप्तान इन्दू बर्माले चोटका कारण बीचमै खेल छाडेकी थिइन् । सातौं ओभरको चौथो बलमा उनलाई चोट लागेको थियो ।
नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाउँदा रुबिना क्षेत्रीले १० रन बनाइन् ।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले ३ विकेट लिइन् । कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ तथा ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो ।







