विराटचोकः गत आर्थिक वर्षको साधारणसभा गरिसक्नुपर्ने अन्तिम दिन आज पुस ३० गते हो । कम्पनी, संघसंस्थालगायतले आर्थिक वर्ष सकिएको तीन महिना अर्थात् असोज मसान्तमा साधारणसभा गरिसक्नुपर्छ । सो समयमा साधारणसभा गर्न नसकेमा म्याद थपको स्वीकृति लिएर पुस मसान्तभित्र गरिसक्नुपर्छ ।
कम्पनी ऐन २०६३ मा भएको व्यवस्था अनुसार ऐनको दफा ७६ मा स्पष्ट भनिएको छ कि प्रत्येक पब्लिक कम्पनीले आर्थिक वर्ष पूरा भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्नेछ । असारमा आर्थिक वर्ष सकिने हुनाले पुस मसान्त अन्तिम समय सीमा हो । साथै, ऐनको दफा ६७ ले सभा बस्नुभन्दा कम्तीमा २१ दिन अगावै शेयरधनीलाई सूचना दिनुपर्ने र सो सूचना दुई पटक राष्ट्रिय दैनिकमा छाप्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सोही नियम पछ्याउँदै ५३ कम्पनीले आज साधारण सभा बोलाएका हुन् ।
आज हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक र प्रभु बैंक जस्ता ठूला वाणिज्य बैंकहरूले साधारणसभा डाकेका छन् । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष, चिलिमे हाइड्रोपावर र राष्ट्रिय बिमा कम्पनीले पनि आजै साधारणसभा गर्दैछन् ।
ठूला र नाम चलेका कम्पनीहरूले यसरी अन्तिम दिन सभा गर्ने प्रवृत्तिले साधारण सभालाई शेयरधनी र सञ्चालकबीचको अर्थपूर्ण छलफलभन्दा पनि केवल कानुनी प्रक्रिया पु¥याउने “कर्मकाण्ड“ मा सीमित गरिदिएको छ । लगानीकर्ताहरू रुष्ट छन् किनकि उनीहरूले चाहेर पनि सबै कम्पनीको प्रगति विवरण सुन्न र प्रश्न सोध्न पाउँदैनन् । ५३ कम्पनीको सभा एकै दिन जुध्नु भनेको बजारको सुशासनका लागि राम्रो विषय होइन ।
लगानीकर्ताले यस विषयमा बारम्बार ध्यानाकर्षण गराउने गरे पनि सम्बन्धित कम्पनी र नियामक निकायले ध्यान दिएका छैनन् ।







