बेलबारीः भोलिदेखि मोरङको बेलबारीमा ‘दोस्रो बेलबारी महोत्सव २०८२’ सञ्चालन हुने भएको छ ।
महोत्सव आयोजक बेलबारी उद्योग वाणिज्य संघले हिजो मेलास्थलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । महोत्सवले स्थानीय आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकले जनाएको छ ।
‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि दिउँसो १ बजे गर्ने तय भएको छ ।
बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले महोत्सवलाई ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको तथा करिब १ करोड ६७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । १ करोड २७ लाख रुपैयाँ खर्च हुने गरेर बाँकी रकम बचत गर्ने आयोजकले अनुमान गरेको उहाँले जानकारी दिनुभयो ।
बचत हुने अनुमानित ४० लाख रुपैयाँ उद्योग वाणिज्य संघ बेलबारीको भवनको माथिल्लो तलामा बहुउद्देश्यीय सभाहल निर्माणमा खर्च गरिने संघले जनाएको छ । महासचिव मिश्रका अनुसार कुल ६३ वटा व्यापारिक स्टलहरू रहनेछन् ।
संघका कार्यवाहक अध्यक्ष सन्दीप राईका अनुसार स्टलहरूमा विशेषगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ । महोत्सवमा कृषि, पशुपक्षी, औद्योगिक उत्पादन, हस्तकलाका सामग्रीका साथै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका स्टलहरू रहनेछन् । होटल तथा रेष्टुरेन्टका स्टलहरू पनि रहने बताइएको छ ।
महोत्सवमा दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरू, साङ्गीतिक व्याण्डहरू र विभिन्न सांस्कृतिक समूहहरूले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी बेलबारी र आसपासका पर्यटकीय क्षेत्रहरूको पहिचान गराउन महोत्सवले सेतुको काम गर्ने आयोजकले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजकको रूपमा आरजु राईस मिल बेलबारी रहेको छ भने सह–प्रायोजकहरूमा चौधरी ग्रुपको एक्सट्रिम इनर्जी ड्रिङ्क, पीएलओ ग्रुप र द रिभर ओभरसिज लगायतका व्यावसायिक संस्थाहरू रहेका छन् ।







