विराटचोकः मोरङको सुकुना बहुमुखी क्याम्पसमा दुई प्रदेशका क्याम्पस प्रमुख सहभागी भई शैक्षिक गुणस्तरको विषयमा अन्तरक्रिया शुरु भएको छ । हिजो शुरु भएको कार्यक्रम आज समापन हुनेछ ।
विश्वविद्यालय अनुदान आयोगअन्तर्गतको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् (इक्युएएसी) को आयोजनामा भएको गुणस्तर सुनिश्चितताका बदलिँदा आयामहरू विषयक अभिमुखीकरण तथा पुनर्ताजगी कार्यक्रममा विविध विषयमा अन्तरक्रिया तथा छलफल गरी सुझाव सङ्कलन गरिने भएको छ ।
ती दुई प्रदेशका क्युएए प्राप्त तथा हालै क्युएए प्राप्त क्याम्पसहरूलाई लक्षित गरी आयोजित कार्यक्रमको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुभएको छ । प्रमुख अतिथि प्रा.डा. अधिकारीले आन्तरिक गुणस्तर सुधारमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
क्याम्पस स्वयंले नै आन्तरिक क्युएए प्रणाली सुदृढ गर्न पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कतिपय क्याम्पसहरू समस्याग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्ता छलफल तथा कार्यक्रममार्फत थप क्याम्पसलाई सक्षम र सबल बनाउन सकिने बताउनुभयो । सामुदायिक क्याम्पसमा विद्यार्थी संख्या न्यून हुनु र मर्जर हुन नचाहने प्रवृत्तिका कारण समस्या देखिएको उहाँको भनाइ थियो ।
क्युएए सचिवालयकी उपनिर्देशक भगवती पौडेलले क्युएए प्राप्त क्याम्पस तथा नयाँ प्रत्यायन हासिल गरेका क्याम्पसलाई गुणस्तर सुनिश्चितताका विषयमा अभिमुखीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम व्यवस्थापन गरिरहेको सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले क्युएएको अभियान यात्रा सहज नभए पनि अनिवार्य भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले नयाँ विषय सञ्चालनको अनुमति नपाउँदा विद्यार्थी टिकाउन कठिनाइ भइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले सुकुना बहुमुखी क्याम्पसलाई कार्यक्रम आयोजना गर्न छनोट गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्य, उपनिर्देशक भगवती पौडेल, क्युएए सहायक नवीना चौलागाईलगायतले सहजीकरण गर्नुहुने भएको छ ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका क्युएए सहायक सीता डुम्रेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम आज समापन हुनेछ ।







