सुन्दरहरैंचाः गत आर्थिक वर्षको नाफाबाट बोनस पाउन विभिन्न ७ कम्पनीको शेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । नेपाल टेलिकम, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीले भोलि पुस १९ गते बुक क्लोज गर्दैछन् ।
टेलिकमले पुस २९ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १४ दशमलव २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २७ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
लक्ष्मी सनराइज बैंकले पुस २६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हुने २३ औँ वार्षिक साधारण सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजीको ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २८ गते, सिटी स्क्वायर, न्यूरोड, पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २८ गते, लैनचौर ब्याङ्क्वेट, नेपाल स्काउट कम्पाउण्ड, लैनचौर, काठमाडौँमा २२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
ग्लोबल आइएमई लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते, बेस्ट रिसोर्ट नेपाल प्रा.लि., लेकसाइड पोखरामा ११ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बुटवल पावरले ५ प्रतिशत नगद लाभांश पारित गर्न पुस २९ गते साधारणसभा बोलाएको छ ।