लेखनाथ पौड्याल
बालक बबुरो द्विज शुकनामा
हुँ म परेको छु पिँजडामा ।
मकन हरे ! शिव शान्ति र चैन
सपनाबीच पनि रतिभर छैन ।।
मेरा बान्धव बाबु र आमा
बसछन् वनका एक कुनामा ।
कोसित पोखूँ मनको ताप
गर्दै पिँजडाबाट विलाप ।।
आँसु बगाई कहिले रुन्छु
कहिले मुर्दातुल्य म हुन्छु ।
कहिले पागलसरी उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ।।
पुलफूल खाइ नित्य रमाई
वनमा फिर्ने बिचरालाई ।
विधिले पार्यो पिँजडाभित्र
कर्म हरे ! शिव हुन्छ विचित्र ।।
कति फिर्दो हुँ कति उड्दो हुँ
कति कति देशान्तर डुल्दो हुँ ।
दैव ! हरे किन बालकलाई
बन्धन पार्यौ व्यर्थ भुलाई ।।
शीतल पानी कुञ्ज निवास
भोजन मीठा फलको खास ।
त्यो सब हुन गो आज विनाश
बाँकी छ एकै मनको त्रास ।।
हरिया वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुल्नू फिरनू फुलफूल खाई
सपनामय भो हाय ! मलाई ।।
वृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी ।
नित्य रुँदा हुन् हाय ! विधाता !
तोडिदियौ किन त्यो दृढनाता ??
वरिपरि वैरीहरू छन् सारा
छैन कतैतिर कोही सहारा ।
के गरुँ ! कसरी उम्की जाऊँ ?
कोसित मनको दर्द बिसाऊँ ??
यो सब गगनैभरमा खास
जसका हुन्थे भोग विलास ।
उसको अब हा ! जीवन पात्र
केवल सानु पिँजडा मात्र ।।
पिँजडा फोरूँ भनिकन चुच्चो
बलसँग धसदा भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष र पाउ
कसरी अब हा ! काल बिताऊँ ।।
कहिले ठण्डी, कहिले धूप
कहिले बकबक, कहिले चुप ।
बालकहरूको मनअनुसार
हुन्छ निरन्तर भाग्य विचार ।।
भाग्य तमासा जब सम्झन्छु
अनि पछि सिल्लीतुल्य म हुन्छु ।
आँसु बहन्छन् छाती चिरिन्छ
चित्त निरन्तर रोइरहन्छ ।।
उठ्दछ मनमा घोर तरङ्ग
सबतिर हेरी हुन्छु भरङ्ग ।
प्राण नजाने काल नआइ
के गरी कसरी बाँचूँ हाइ !!
खानु छ खाली तौली धान
त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन
भोगिरहेछु यस्तै चैन ।।
शुष्क छ घाँटी, बन्धन चर्को
बोलनु पर्ने झर्को अर्को ।
बोली नबोलूँ लट्ठी उजाई
हुन्छु तयारी पिटनलाई ।।
यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी राखो नाम !!
यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिँजडाबीच के खायो !
यो सब बुझ्ने कोही छैन
हाय ! यसैले मन रहँदैन ।।
जीवन अर्पी बन्धनभित्र
बोल्नुपर्ने बोली विचित्र ।
तैपनि चारा आधा मात्र
दैव ! रहेछौ करुणा पात्र ।।
दैव ! दिएथ्यौ तिमीले एक
मीठो बोलने शक्ति विवेक ।
पाइरहेछु आज त्यसैद्वारा
बन्धन, गाली, धम्की सारा ।।
मकन दिलाइ सङ्कट जेल
मानिस गर्ने कौतुक खेल ।
यो कस्तो हो पापाचार !!
दीन दयालु ! लाऊ पार ।।
गुणको वैरी मानुष जाति
शुष्क गराइ गुणीको छाती ।
प्राण पखेरू नलिएसम्म
खुश किन हुन्थ्यो हाय ! अचम्म ।।
पृथ्वीतलमा यौटासम्म
मानिस बाँकी रहँदासम्म ।
नाथ सुगाको जन्म नहोस्
बल्ल मलाई आयो होश ।।







