Friday, January 2, 2026
Homeप्रविधिसन् २०२५ को ‘वर्ष शब्द’ बन्यो ‘स्लप’

सन् २०२५ को ‘वर्ष शब्द’ बन्यो ‘स्लप’

काठमाडौंः मेरियम वेबस्टरले सन् २०२५ को वर्ष शब्द ‘स्लप’ घोषणा गरेको छ, जसले एआईबाट उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्री जनाउँछ ।

विगत १८० वर्षभन्दा धेरै समयदेखि भाषा र शब्दको दस्तावेजीकरण गर्दै आएको विश्वप्रसिद्ध शब्दकोश संस्था मेरियम वेबस्टरले ‘स्लप (क्यिउ)’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) घोषणा गरेको छ । शब्दकोशका अनुसार ‘स्लप’ भन्नाले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट ठूलो मात्रामा उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्रीलाई जनाउँछ ।

एआई स्लप भनेको के हो ?
मेरियम वेबस्टरका अनुसार एआई स्लप त्यस्तो डिजिटल सामग्री हो, जुन बाहिरबाट आकर्षक देखिए पनि त्यसमा न त गुणस्तर हुन्छ, न त कुनै ठोस सूचना । यसमा एआईद्वारा तयार गरिएका भिडियो, फोटो, अडियो, फेक न्युज, कमजोर लेख तथा अर्थहीन मनोरञ्जन सामग्री समावेश हुन्छन् । यस्ता सामग्री अत्यन्तै छिटो र ठूलो परिमाणमा उत्पादन भइरहेका छन् ।

शब्दकोश कम्पनीका अनुसार सन् २०२५ मा ‘एआई स्लप’ लगभग सबै ठाउँमा देखियो । सामाजिक सञ्जालमा बेतुकका भिडियो, अनौठा विज्ञापन, तस्बिर र भ्रामक समाचारहरू भाइरल भए । कार्यस्थलहरूमा समेत एआईबाट तयार गरिएका कमजोर रिपोर्ट र प्रस्तुतिहरू देखिए, जसले सहभागीहरूको समय खेर फाल्ने काम ग¥यो । विज्ञहरूले यो प्रवृत्तिलाई ‘वर्क स्लप’ नाम दिएका छन् ।

द गार्डियन को रिपोर्टअनुसार यस वर्ष सबैभन्दा तीव्र गतिमा बढेका केही युट्युब च्यानलहरू पूर्ण रूपमा एआई स्लपमा आधारित थिए । ब्लूम बर्गको एक रिपोर्टले युट्युब किड्समा पनि ठूलो संख्यामा एआईद्वारा बनाइएका भिडियोहरू रहेको र ती सामग्री अत्यन्तै साना बालबालिकाले हेरिरहेको खुलासा गरेको छ । सो खुलासासँगै युट्युबले आफ्नो मनिटाइजेसन नीतिमा परिवर्तन गर्नुपरेको थियो ।

‘स्लप’ शब्दको इतिहास
‘स्लप’ शब्दको प्रयोग पहिलो पटक सन् १७०० को पहिलो दशकमा भएको थियो । जसले नरम हिलो वा लेदोलाई जनाउँथ्यो । समयक्रममा यसको अर्थ परिवर्तन हुँदै फ्याँकिएको खाद्य पदार्थ बन्यो । त्यसपश्चात् फोहोरलाई जनाउन यो शब्द प्रयोग गर्न थालियो भने अन्ततः कम मूल्य वा न्यूनस्तरको वस्तुलाई जनाउने शब्दका रूपमा यसको प्रयोग हुन थाल्यो । अहिले यो शब्द डिजिटल संसारमा न्यून स्तरका एआई सामग्रीलाई जनाउन प्रयोग भई स्थापित समेत भइसकेको छ ।

हाल विकिपिडिया, स्पटिफाइ तथा पिन्टेरेस्ट जस्ता प्लेटफर्मले एआई स्लप नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, अर्कोतर्फ मेटा र ओपनएआई जस्ता कम्पनीहरूले नयाँ एप र फिचर सार्वजनिक गरिरहेका छन् जसले ठूलो मात्रामा एआई सामग्री उत्पादन गर्न सहज बनाएको छ । यस कारण एआई स्लपसम्बन्धी बहस अझ तीव्र बनेको छ ।

शोधकर्ताको चेतावनी
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताले गरेको एक अध्ययनले च्याटजिपिटीजस्ता एआई टुलमा अत्यधिक निर्भरता बढ्दा मानिसको स्मरणशक्ति र सोच्ने क्षमतामा नकारात्मक असर पर्न सक्ने चेतावनी दिएको छ । लामो समयसम्म एआई स्लपको सम्पर्कमा रहँदा बालबालिका तथा किशोरकिशोरीहरूको मानसिक विकासमा प्रतिकूल प्रभाव पर्ने उक्त अध्ययनले देखाएको छ ।

एआई सामग्रीको बढ्दो प्रयोग र त्यसले निम्त्याउने चुनौतीबीच ‘स्लप’ लाई वर्ड अफ द इयर घोषणा गर्नुले डिजिटल युगमा गुणस्तर, विश्वसनीयता र सामाजिक प्रभावबारे बढ्दो चिन्ता प्रतिबिम्बित भएको विश्लेषकहरूको भनाइ छ ।

(एजेन्सीको सहयोगमा)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments