लेटाङः नगरभित्रका चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थको दिगो उत्खनन, संकलन तथा बिक्री कार्यका लागि लेटाङ नगरपालिकाले बोलपत्र आह्वान गरेको छ ।
नगर कार्यपालिकाको कार्यालय, लेटाङद्वारा प्रकाशित सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४, प्रदेश आर्थिक ऐन २०८२ तथा आइइइ प्रतिवेदनमा तोकिएका मापदण्डअनुसार उत्खनन कार्य गर्न इच्छुक इजाजतप्राप्त फर्म वा कम्पनीहरूबाट बोलपत्र माग गरिएको हो ।
सूचनाअनुसार चिसाङ, तेली र मोरङी खोलाबाट कुल २ लाख ३२ हजार ३ सय ५६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न सकिनेछ । यसका लागि न्यूनतम कबोल रकम भ्याट बाहेक ५ करोड ५१ लाख ८९ हजार ६ सय ३२ रुपैयाँ ९६ पैसा तोकिएको छ । बोलपत्र दर्ताका लागि ३ हजार रुपैयाँ शुल्क लाग्नेछ भने कबोल रकमको कम्तीमा ५ प्रतिशत धरौटी रकम अनिवार्य गरिएको छ ।
सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र तोकिएको समयसम्म विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नुपर्ने पालिकाले जनाएको छ ।








