विराटचोकः वि. सं. २०८३ सालको पात्रो ढिलो प्रकाशित हुने भएको छ । तिथिमितिको गणना गर्ने विषयमा ज्योतिषीहरूबीच मत बाझिएपछि पात्रो प्रकाशनमा ढिलाइ हुने भएको हो ।
नेपालमा पात्रो प्रकाशन शुरु भएको १३६ वर्षको इतिहासमा पहिलो पटक यस्तो विवाद देखिएको हो । नेपालमा विसं १९४६ मा सूर्य सिद्धान्तलाई मुख्य आधार मान्दै पण्डित तोयानाथ पन्तले पहिलो पटक नेपाली पात्रो छपाउनुभएको थियो । त्यसयता हरेक वर्ष पात्रो छाप्दा त्यही सिद्धान्तलाई आधार मान्ने गरिएको छ ।
पछिल्लो समय सूर्य सिद्धान्तको आधारमा नभई केतकी सिद्धान्तको आधारमा पात्रो निर्माण गरिनुपर्ने आवाज उठ्न थालेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अधिकांश अधिकारी पनि केतकी सिद्धान्त अपनाउनु पर्ने पक्षमा देखिँदै आएका छन् । त्यहीअनुसार समितिले केही समय पहिले नै २०८३ सालको पञ्चाङ्ग (पात्रो) केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेस गर्न ज्योतिषीहरूलाई निर्देशन दिएको थियो । तर, समितिले २०८३ सालको पात्रो २०८२ कै अनुरूप बनाइने बताएपछि ज्योतिषीहरूबीच विवाद बढेको हो ।
केतकी सिद्धान्त भारतबाट आएको भए पनि त्यहाँ पनि कतिपय राज्यहरूमा सूर्य सिद्धान्तअनुसार नै पञ्चाङ्ग गणना गर्ने चलन रहँदै आएको जानकारहरू बताउँछन् ।
सामान्यतया कात्तिक मंसिरमै आगामी सालको तिथिमितिहरू टुंगो लगाइने गरेको भए पनि अहिले भने सूर्य सिद्धान्तअनुसार पात्रो निर्माण गर्ने वा केतकी सिद्धान्तअनुसार भन्ने विवादले पात्रो छपाइ ढिलो हुने भएको हो । समितिले पुरानै पद्धतिअनुसार पात्रो छपाउने निर्णय गर्दा पनि अझै पनि ज्योतिषहरुबीच विवाद रहेको बताइएको छ ।







