विराटचोकः सर्वसाधारण लगानीकर्ताका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
बुक बिल्डिङमार्फत् कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ । तर बुक बिल्डिङमार्फत् निस्कासन हुने आईपीओका लागि ८२० रुपैयाँ ८० पैसा मूल्य निर्धारण भएको छ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सर्वसाधारण लगानीकर्तालाई सो मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा निर्धारण भएको हो ।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।







