बेलबारीः काठमाडौंमा कार्यालय स्थापना गरी विगत केही वर्षदेखि विद्यार्थी प्लेसमेन्ट तथा रिक्रुटमेन्टको क्षेत्रमा काम गर्दै आएको राइट चान्स एजुकेसन कन्सल्टेन्सीले मोरङको बेलबारीमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ ।
बेलबारीमा सञ्चालित पाराङहा एकेडेमीसँगको सहकार्यमा शाखा सञ्चालन गरिएको राइट चान्स एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रञ्जित पुरीले जानकारी दिनुभयो । बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । अध्ययनका लागि जापान, अष्ट्रेलिया, अमेरिका, जर्मनी, युके तथा क्यानडा जान चाहने विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण प्रक्रिया बेलबारीबाटै सम्पन्न हुने सञ्चालक पुरीले बताउनुभयो ।
विशेषगरी जापान अध्ययनका इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी सेवा विस्तार गरिएको राइट चान्सले जनाएको छ ।
पाराङहा एकेडेमी पूर्वी नेपालकै चर्चित शैक्षिक संस्थामध्ये एक हो ।
पाराङहा भाषा केन्द्रमा आयोजित कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक कर्ण राई र राइट चान्स एजुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशक रञ्जित पुरीले संयुक्त रूपमा सेवा विस्तारको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै पाराङहा भाषा केन्द्रका प्रबन्ध निर्देशक कर्ण राईले विदेश अध्ययनका लागि राम्रो भाषा केन्द्र र भरपर्दो कन्सल्टेन्सी खोज्दै काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य हुने बताए ।
राइट चान्स एजुकेसन कन्सलटेन्सीका प्रबन्ध निर्देशक रञ्जित पुरीले पराङहा भाषा केन्द्रसँगको सहकार्यले स्थानीय विद्यार्थीहरूको समय, खर्च र झन्झट सबै घट्ने र टाढा गएर तयारी गर्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
कार्यक्रममा शिक्षक तथा समाजसेवी राजकुमार लिम्बूले शुभकामना मन्तव्य दिँदै स्थानीय स्तरमै यस्ता सेवाको विस्तार हुनु विद्यार्थी र अभिभावक दुवैका लागि सकारात्मक कदम भएको भएको बताउनुभयो ।







