बेलबारीः यही पुस २५ गतेदेखि माघ ५ गतेसम्म बेलबारी–३, पुरानो मालपोत लाइनमा स्थानीय उद्योग, कृषि, पर्यटन र उद्यमशीलतालाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित ‘दोस्रो बेलबारी महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।
बेलबारी उद्योग वाणिज्य संघले हालै पत्रकार सम्मेलनमार्फत् महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सवको प्रचार–प्रसारको मुख्य सामग्रीका रूपमा निर्माण गरिएको ज्याकेट पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । संघका निवर्तमान अध्यक्ष तथा बेलबारी–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी र संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले संयुक्त रूपमा ज्याकेट सार्वजनिक गर्नुभएको हो ।
“स्वदेशी उत्पादन, स्वावलम्बी अर्थतन्त्रको आधार” नारासहित आयोजना हुने यस महोत्सवले कृषि, उद्योग र पर्यटनबीचको सम्बन्धलाई मजबुत बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य लिएको जनाइएको छ । कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई महोत्सवले महत्त्वपूर्ण अवसरका रूपमा लिने र आन्तरिक पर्यटन विस्तारमा सहयोग पु¥याउने संघको विश्वास रहेको छ ।
संघका महासचिव विवेक मिश्रका अनुसार सो महोत्सवमा कृषि, हस्तकला, घरेलु उत्पादन, प्रविधि, निर्माण सामग्री, शिक्षा, खेलकुद, स्टार्टअप तथा नवप्रवर्तनसम्बन्धी गरी २२० भन्दा बढी स्टल रहनेछन् । कोशी प्रदेशका सबै जिल्लाबाट किसान, उद्योगी, व्यापारी र सर्वसाधारण गरी करिब ३ लाखभन्दा बढी दर्शक सहभागी हुने अनुमान आयोजकले गरेको छ ।
बेलबारी नगरपालिका, कोशी प्रदेश सरकार, प्रायोजक तथा स्टल बुकिङमार्फत करिब १ करोड ६७ लाख रुपैयाँको बजेट व्यवस्थापन भएको र खर्च व्यवस्थापनपछि करिब ४० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा सांस्कृतिक साँझ, उद्यमी सम्मान, सेमिनार तथा अन्तरक्रिया, स्थानीय खाद्य प्रदर्शनी, पर्यटन प्रवर्दधनका कार्यक्रमहरू प्रमुख आकर्षण हुने आयोजकले जनाएको छ ।







