Thursday, December 18, 2025
Homeफिचरस्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गर्दै भुजुङ...

स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजदेखि आईपीओ निष्काशन गर्दै भुजुङ हाइड्रोपावर

विराटचोकः भुजुङ हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

सो कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दामा बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि बाँडफाँड गरिनेछ ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निस्काशन हुने भएको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ ५५ पैसा रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ । सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ बैशाख ६ गतेदेखि नै विद्युत उत्पादन गरिरहेको छ ।

स्थानिय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेंसीशहर शाखा कार्यालय र भुजुङ हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments