विराटचोकः मंसिर महिनामा पनि सुन्दरहरैंचा नगरपालिका केही विषय र घटनाका कारण चर्चामा रह्यो । प्रत्येक हप्ता सुन्दरहरैंचामा केही न केही गतिविधि भइरहे, जसले नगरको नाम सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाइरह्यो । हात्तीको आक्रमणमा परी मृत्यु भएका नराम्रा घटनाका साथै स्वास्थ्य शिविर, गजल साँझ, फुटबल प्रतियोगितादेखि अन्य गतिविधिका कारण मंसिर महिना स्मरणीय रह्यो ।
यी हुन् मंसिर महिनामा भएका केही मुख्य घटना
मंसिर ५
सुकुना बहुमुखी क्याम्पसले परिषद् बैठकको अवसर पारी क्याम्पसमा अध्ययनरत २४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २०० रुपैयाँ छात्रवृत्ति वितरण ।
सुन्दरहरैंचामा क्रियाशील नझरेका फूलहरूले इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी धरान निवासी साहित्यकार डा. अस्मिता बिष्टको एकल साहित्यिक साँझ गरेको छ । सुन्दरहरैंचा, धरान र इटहरीलाई जोड्न कार्यक्रम सफल ।
मंसिर ६
सुकुना बहुमुखी क्याम्पसमा बीबीए आठौँ सिमेष्टरमा अध्ययनरत सुन्दरहरैंचा–८ निवासी विद्यार्थी निखिल रिजालले आफ्ना हजुरबुबाको नाममा आनन्द इन्टरप्राइजेज नामक कम्पनीमार्फत् पिङ्क साल्ट (सिधे नुन) र ब्ल्याक साल्ट (बीरे नुन) प्याकेजिङ गर्ने उद्योग सञ्चालन ।
राइडर्स महफिलको आयोजनामा सुन्दरहरैंचा–९ स्थित बालबगैंचा मण्टेश्वरीमा भएको गजल महफिलमा झापा, मोरङ र सुनसरीका गजलकारका गजल प्र्रस्तुत ।
मंसिर ८
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा देखिएनन् अभियानकर्मी, जनप्रतिनिधि र सर्वसाधारण । सुन्दरहरैंचा नगरपालिकाबाट निकालिएको र्यालीमा सीमित जनप्रतिनिधि, सीमित कर्मचारी र अधिकांश विद्यार्थीमात्रै सहभागी ।
मंसिर १०
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुन्दरहरैंचाद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा सिनियरतर्फ जुपिटर इङ्लिस स्कुल र जुनियरतर्फ हरैंचा मोडल सेकेण्डरी स्कुल पहिलो ।
कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा ५७ जना असल ऋणीसहित १०१ जना सम्मानित ।
मंसिर १२
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँको प्राविधिक सहयोगमा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण ।
मंसिर १३
नझरेका फूलहरुको आयोजनामा स्रष्टा रुपनारायण श्रेष्ठको एकल गीत, गजल गायन र वाचन कार्यक्रम सुन्दरहरैंचा–१० स्थित सिर्जना क्याफेमा सम्पन्न ।
सुन्दरहरैंचाका सर्जक छवि वैरागी घिमिरेलिखित उपन्यास ‘विविशारा’ माथि स्याङ्जामा विमर्श ।
मंसिर १५
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप शुरु । प्रतियोगितामा पश्चिम बंगालको एक टिमसहित ८ टिम सहभागी । उद्घाटन खेलमा सलहेश फुटबल क्लबद्वारा बेलबारी फुटबल क्लब पराजित ।
मंसिर १६
प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक गछिया युवा समाज विदेशी पाहुना टोली लिजेण्ड फुटबल क्लब पश्चिम बंगाल भारतलाई ० का विरुद्ध ७ गोल गरी अघिल्लो चरणमा प्रवेश ।
मंसिर १७
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर इन्द्रपुर जेसीजद्वारा नगरका पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर वितरण ।
मंसिर १८
इन्द्रपुर जेसीजद्वारा सुन्दरहरैंचा–१ बानडाँडामा निर्माण गरिएको जेसीज भिलेजमा निर्मित ५ वटा घर सम्बन्धित घरधनीलाई प्रदान । सन् २०२८ सम्ममा थप घर निर्माण गरिसक्ने जेसीजको लक्ष्य ।
मंसिर २०
इन्द्रपुर जेसीजको जेसीज सप्ताह कार्यक्रम समापन । साताभर विभिन्न कार्यक्रम गरेको इन्द्रपुर जेसीजले समापन समारोहमा विशेष गजल साँझ र साङ्गीतिक प्रस्तुति ।
मंसिर २२
एनी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकप २०८२ को उपाधि राष्ट्रिय जागृति क्लब इटहरीको पोल्टामा । फाइनलमा राष्ट्रिय जागृतिद्वारा गाईघाट युनाइटेड उदयपुर १–० ले पराजित ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङद्वारा आयोजित प्याब्सन स्पोर्टस् मिटमा सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी र पूर्वाञ्चल एकेडेमी क्रमशः पहिलो र दोस्रो ।
मंसिर २३
सुन्दरहरैंचामा साहित्यिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय नझरेका फूलहरूद्वारा नीलो प्रेम उपन्यासका लेखक पुरुषोत्तम बजगाईँ र सो कृति प्रकाशन गर्ने संस्था इण्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेललाई इटहरीमा सम्मान ।
मंसिर २४
सुन्दरहरैंचामा साहित्यिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय नझरेका फूलहरूद्वारा नीलो प्रेम उपन्यासका लेखक पुरुषोत्तम बजगाईँ र सो कृति प्रकाशन गर्ने संस्था इण्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेललाई धरानमा सम्मान ।
मंसिर २७
दूध पुर्याउन डेरी जाने क्रममा हात्तीको आक्रमणमा परी सुन्दरहरैंचा–१२ संगम चोकमा ६० वर्षीय स्थानीय भवकृष्ण घिमिरेको मृत्यु ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाको नगर अधिवेशनद्वारा पुनः टेकमणि न्यौपाने (विवेक) लाई नगर सभापतिमा चयन ।
मंसिर २८
एन प्याब्सनले गरेको कोशी प्रदेशस्तरीय नेपाली तथा अङ्ग्रेजी हस्तलेखन तथा वक्तृत्वकला सुन्दरहरैंचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न ।







