विराटचोकः वाणिज्य बैंकहरुले पुस महिनामा पनि ब्याजदर घटाएका छन् । अब व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकको अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ । २० वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।
पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेमा वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतबिन्दु कायम भएको छ । मंसिर महिनाको अधिकतम औसत ब्याजदर ५.०४०५ प्रतिशतविन्दु थियो ।
मंसिर महिनाको तुलनामा पुस महिनामा १३ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतबिन्दुले घटाएका हुन् । त्यस्तै, प्रभु बैंक र कृषि विकास बैंकले समान ०.४ प्रतिशतबिन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर ०.३८ प्रतिशतबिन्दु घटेको छ ।
७ वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन् ।
व्यक्तिगत मुद्दतिको ब्याजदरसँगै वाणिज्य बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटेको छ । मंसिर महिनाको तुलनामा पुस महिनामा संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ०.१३ प्रतिशतबिन्दुले घटेको छ । पुस महिनाका लागि ५ वाणिज्य बैंकहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् ।







