भेडेटारः धनकुटाको भेडेटारमा ११ औँ फुड फेस्टिभल आइतबार शुरु भएको छ । सन् २०२४ लाई स्वागत र २०२३ लाई बिदाइ गर्दै खुशी मनाउन भारतीय पर्यटकहरू आउने समय पारेर हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्ष शुरु हुने अघिल्लो दिन भेडेटारमा फुड फेस्टिभलको आयोजना हुने गरेको छ ।
प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन तथा वन मन्त्री गणेश उप्रेतीले आइतबार फेस्टिभलको उद्घाटन गरेका छन् । मन्त्री उप्रेतीले विश्व बजारमा स्थानीय प्रकृति र संस्कृति ब्राण्डिङ गर्न नसकेका कारण नेपाल पछि परेको सो अवसरमा बताए ।
भेडेटारलाई स्पोर्टस टुरिजमको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको पनि उनले बताए । भारतीय पर्यटकलाई भारतीय मुद्रा बोकेर आउँदा नेपालमा अनेकौँ झमेला हुने भएकाले नियम परिवर्तन गरी भारतीय पर्यटकलाई नेपाल घुम्ने वातावरण सहज बनाउने पनि उनको भनाइ थियो ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले धरान र साँगुरीगढी गाउँपालिका छिमेकी भएकाले साँध सिमानाको कुरालाई जोड्दै छिटै सिमाङ्कनको काम सक्नुपर्ने बताए ।
फेस्टिभललाई ग्रामीण कृषि पर्यटनसँग जोड्न साँगुरीगढीमा उत्पादन भएका कृषिजन्य बस्तुहरूलाई बजारीकरण गर्न र कृषकलाई उत्पादनसँग जोड्न सहयोग पुर्याउने उद्देश्यल कृषि भण्डारण केन्द्रको पनि उद्घाटन गरिएको छ ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले जनतासँग कृषि उत्पादनलाई जोड्न उत्पादन भएका बस्तुलाई तुरुन्त बजारीकरण गर्न गाउँपालिकाले कृषि उत्पादन एकै ठाउँमा केन्द्रित गर्न भण्डारण केन्द्र निर्माण गरेको बताए ।
फेस्टिभल अवधिभर पर्यटकलाई खान र बस्नमा विशेष छुट दिइने भएको छ ।
भेडेटारको प्रचारमा सहयोग गरेको भन्दै नेपाल टेलिभिजन धनकुटा संवाददाता विदुर खवास र प्रबोध साप्ताहिक धरानकी सम्पादक जमुना श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो ।