विराटचोकः हिजो साँझ विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरूले ठूलो झट्काको सामना गरे । इन्टरनेट पूर्वाधार कम्पनी क्लाउडफ्लेयर, सामाजिक सञ्जाल प्लेटफर्म एक्स, ओपनएआईको कृत्रिम बुद्धिमत्ता च्याटजीपीटी र डिजाइन उपकरण क्यानभाका सेवाहरू करिब चार घण्टासम्म पूर्ण रूपमा बन्द हुन पुगे ।
इन्टरनेट पूर्वाधार कम्पनी क्लाउडफ्लेयरको प्राविधिक समस्यका कारण ७५ लाख वेबसाइटहरू प्रभावित भए । सर्भर अवस्थाको जानकारी दिने डाउनडिटेक्टर वेबसाइट पनि बन्द भएपछि प्रयोगकर्ताहरूले समस्या ट्रयाक गर्न पनि पाएनन् ।
हिजो साँझ ५ बजेदेखि राति ९ बजेसम्म यो समस्या देखिएको थियो ।
डाउन डिटेक्टरका अनुसार एक्सका ४३ प्रतिशत प्रयोगकर्ताहरूले पोस्टहरू हेर्न नसकेको गुनासो गरेका थिए भने २३ प्रतिशतले वेबसाइट प्रयोगमा समस्या र २४ प्रतिशतले कनेक्सन समस्या बताएका थिए ।
च्याटजीपीटीका प्रयोगकर्ताहरूले मुख्य रूपमा वेबसाइट (८७ प्रतिशत)मा समस्या सामना गरेका थिए । एप (९ प्रतिशत) र एपीआई (३ प्रतिशत)मा पनि अवरोध देखिएको थियो ।
क्यानभाका सेवाहरू पनि पूर्ण रूपमा प्रभावित हुँदा डिजाइन र ग्राफिक्स कार्यमा निर्भर प्रयोगकर्ताहरूलाई ठूलो असुविधा पुगेको थियो ।
क्लाउडफ्लेयरले यसलाई आफ्नो पूर्वाधारमा उत्पन्न समस्या बताउँदै अनुसन्धान गरिरहेको र चाँडै समाधान गर्ने जानकारी दिएको छ ।
विगतमा पनि एक्समा यस्ता घटना भएका थिए । –(एजेन्सीहरू)







